
कास्की, जेठ ३ :
पोखरा महानगरपालिका–१० स्थित चाइनापुलबाट शुक्रबार राति सेती नदीमा हामफालेका एक युवकको सशस्त्र प्रहरीले उद्धार गरेको छ।
सशस्त्र प्रहरी बल नम्बर २४ कालीका गणबाट खटिएको विपद् व्यवस्थापन टोलीले राति ९:३५ बजे रोप रेस्क्यु प्रविधिको प्रयोग गरी करिब ४५ मिनेटको प्रयासपछि ती युवकलाई उद्धार गरेको हो।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अन्दाजी २१ वर्षका ती युवकलाई पुलबाट करिब १०० मिटर तल सेतीको खोंचमा अर्धचेत अवस्थामा फेला पारिएको थियो।
अहिलेसम्म युवकको परिचय खुलेको छैन भने उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनलाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।