
एमालेका महासचिव शंकर पोखरेल।फाइल फोटो ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्तकै आधारमा एमाले देशको प्रमुख राजनीतिक शक्ति बन्न सफल भएको बताएका छन्।
मदन आश्रित स्मृति दिवसको अवसरमा कीर्तिपुरस्थित पार्टीको पूर्वमुख्यालय परिसरमा आयोजित कार्यक्रममा उनले तत्कालीन महासचिव मदन भण्डारीको नेतृत्वमा विकसित जबजको मार्गदर्शनमै पार्टी २०५१ सालमा संसदको सबैभन्दा ठूलो दल बनेको स्मरण गरे।
पोखरेलले निरंकुश राजतन्त्रको अन्त्यदेखि जातीय भड्काउ र हिंसात्मक प्रवृत्तिको सामना गर्न जबजले निर्णायक भूमिका खेलेको बताए ।
उनका अनुसार पार्टीमाथि पटक–पटक प्रतिबन्ध, विभाजन र निर्वाचनमा निराशाजनक परिणाम आए पनि जबजकै मार्गदर्शनमा एमाले अघि बढ्न सफल भएको हो।
मदन भण्डारी र जीवराज आश्रित २०५० जेठ ३ गते दासढुङ्गा सवारी दुर्घटनामा परेर निधन भएका थिए।