केदारनाथ, जेठ ३ :

एक बिरामीलाई उद्धार गर्न गएको संजीवनी नामक हेलिकोप्टर एम्बुलेन्स केदारनाथमा आपतकालीन अवतरणको क्रममा दुर्घटनामा परेको छ।

शनिबार बिहान केदारनाथ हेलिप्याडमा अवतरण गर्ने प्रयासमा रहेको हेलिकोप्टरको पछिल्लो भाग (टेल रोटर) अचानक भाँचिएपछि दुर्घटना भएको हो।

एम्स ऋषिकेशबाट आएका एक डाक्टर र एक नर्सिंग स्टाफसहितको मेडिकल टोली हेलिकप्टरमा सवार थिए। दुर्घटनाका बाबजुद पायलटसहित सबै जना सकुशल रहेको जनाइएको छ।

जिल्ला पर्यटन विकास अधिकारी तथा हेली सेवा नोडल अफिसर राहुल चौबेका अनुसार, दर्शनका लागि केदारनाथ पुगेकी एक महिला श्रद्धालुलाई श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि राज्य सरकारले संजीवनी हेली सेवा पठाएको हो।

चौबेका अनुसार ल्यान्डिङ अघि नै हेलिकप्टरमा केही प्राविधिक समस्या देखिएपछि पाइलटले हेलिप्याडभन्दा अलि पर समथर भू–भागमा आपतकालीन अवतरण गर्ने निर्णय गरेका थिए।

उनका अनुसार पाइलटको सुझबुझले ठुलो दुर्घटना टरेको हो भने घटनाको प्राविधिक जाँच नागरिक उड्डयन प्राधिकरणले गर्नेछ।बीबीसी हिन्दी