सोलुखुम्बु, जेठ ३ :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको संयोजनमा सगरमाथा आधारशिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद कार्यक्रम गरिएको छ। 

काठमाडौंमा देशविदेशका व्यक्तिहरुलाई डाकेर संवाद गरिरहँदा महामन्त्री शर्माले भने सरकारका दुई वरिष्ठ मन्त्री र सम्बन्धित व्यक्तिलाई राखेर विशेष संवाद कार्यक्रम गरेका हुन् ।

शनिबार भएको संवादमा गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डे सहभागी भएका थिए। ३१ पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी कामिरिता शेर्पालाई सम्मान गर्दै कार्यक्रम सुरु गरिएको हो। झट्ट हेर्दा यो कार्यक्रम चाहिँ सगरमाथा संवाद कार्यक्रम भन्न सुहाउने देखिन्थ्यो ।

कार्यक्रममा स्थानीय प्रतिनिधिका तर्फबाट आरोही बाबु शेर्पाले सरकारसमक्ष १६ बुँदे सुझाव वाचन गरे। सो सुझावलाई ग्रहण गर्दै गृहमन्त्री लेखकले सरकार हिमाली जीवन र जलवायु मुद्दामा गम्भीर रहेको बताए। पर्यटनमन्त्री पाण्डेले ती बुँदाको कार्यान्वयनमा विशेष सक्रियता रहने प्रतिबद्धता जनाए।

महामन्त्री शर्माले आधारशिविरमा सञ्चार टावर, भरियाको बिमा र सुरक्षा युनिट आवश्यक रहेको बताउँदै कार्बन उत्सर्जनमा अग्रसर राष्ट्रहरूलाई दबाब दिन साना राष्ट्रको नेतृत्व नेपालले लिनुपर्नेमा जोड दिए।

लुक्लादेखि पाँच दिन लगातार पदयात्रा गरेर सगरमाथा आधारशिविर पुगेका महामन्त्री शर्मा यो साता आरोहण प्रशिक्षण र हिमाली क्षेत्रका नागरिक एवं हिमाल आरोहण क्षेत्रले भोग्नुपरेका समस्या पहिचान गरेर फिल्डबाटै सम्बन्धित मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

संवादमा कीर्तिमानी आरोहीहरू कामिरिता शेर्पा, मिङ्मा छिरिङ शेर्पा, दावा शेर्पा, पासाङ भोटे र डा. आशीष पौडेललगायतले सगरमाथा क्षेत्रको संरक्षणमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए।