
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास, बिमस्टेकका महासचिव इन्द्रमणि पाण्डेले शिष्टाचार भेटवार्ता गरेका छन् ।
त्यस अवसरमा राणाले बिमस्टेकका उद्देश्य र सिद्धान्तप्रतिको नेपालको प्रतिबद्धता दोहोर्याएकी थिइन् । सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएका पाण्डेले शनिबार राणासँग साइडलाइन भेट गरेका हुन् ।
साथै बिमस्टेकसँग नेपालले जलवायु परिवर्तनका क्षेत्रमा गर्न सकिने सहकार्य र समन्वयका बारेमा पनि कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।
त्यसैगरी परराष्ट्रमन्त्री राणासँग किर्गिजस्थानका राष्ट्रपतिका विशेषदूत दिनारा कामेलोभाले पनि शनिबार शिष्टाचार भेटवार्ता गरेकी छन् ।
सगरमाथा संवादका लागि नेपालमा रहेकी निदाराले राणासँग शनिबार होटेल सोल्टीमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । भेटका क्रममा राणाले उनलाई सगरमाथा संवादमा सहभागिताका लागि धन्यवाद ज्ञापन गरेकी थिइन् ।
साथै भेटमा किर्गिजस्थान र नेपालको द्विपक्षीय सम्बन्धका साथै पर्यटन, कृषि, जलविद्युतलगायत क्षेत्रमा गर्न सकिने सहकार्यबारे पनि कुराकानी भएको थियो ।