
नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग पुनः गठबन्धनको कुनै सम्भावना नरहेको स्पष्ट पारेको छ ।
नयाँ बानेश्वरस्थित ल्होत्से हलमा शनिबार बसेको संसदीय दलको बैठकपछि प्रमुख सचेतक श्याम घिमिरेले माओवादीसँग गठबन्धन र सरकार परिवर्तनको कुनै योजना नरहेको बताएका हुन् ।
उनका अनुसार, बैठकमा गभर्नर नियुक्ति, बजेट वितरण र सन्तुलित विकासको विषयमा सांसदहरूले चासो व्यक्त गरेका थिए ।
त्यसैगरी, कांग्रेस प्रवक्ता प्रकाशशरण महतले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको टेलिफोन संवाद र जनार्दन शर्मा–देउवा भेटलाई संयोग मात्र भएको बताएका छन् ।
‘संयोग मात्र हो, त्यसमा राजनीतिक अर्थ खोज्न जरुरी छैन,’ महतले स्पष्ट पारेका छन् ।
बैठकमा सरकारभित्र कांग्रेसको भूमिका, सांसदहरूको गुनासो, तथा बजेटमा समानुपातिक वितरणको आवश्यकता जस्ता विषयमा छलफल भएको जानकारी पनि महतले दिए।