
काठमाडाैं, जेठ ३ :
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गणतन्त्रमाथि खतरा बढिरहेको बताएका छन्।
काठमाडौँमा शनिबार आयोजित अखिल नेपाल महिला संघ (समाजवादी) को सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले जनताले उखेलेर फालेका प्रतिगामी तत्वहरू पुनः सक्रिय हुन खोजिरहेको बताए। त्यसका विरुद्ध एकजुट हुन उनले आह्वान गरे।
उनले कम्युनिस्ट आन्दोलनले जनतालाई मुक्ति दिलाएको उल्लेख गर्दै समाजवादको लक्ष्यमा पुग्न कम्युनिस्ट पार्टीबाहेक अरुले नसक्ने दाबी गरे।
कम्युनिष्ट आन्दोलनमा देखिएका विकृति र विसंगतिसँग जुध्दै नयाँ उचाइमा पुर्याउनुपर्नेमा उनले जोड दिए। साथै, वर्तमान परिस्थितिमा आन्दोलनलाई कसरी अघि बढाउने भन्नेबारे गम्भीर छलफल आवश्यक रहेको उनले भनाइ थियो।