
सर्लाहीको ईश्वरपुर–१२, घारिबथानका उपेश परियारको परिवारलाई एक सातामै दुई ठुला विपत्ति आइलाग्यो।
जेठ १ गते हावाहुरीले घरको छानो उडायो। त्यसको सन्दर्भमा गाउँले सहयोग जुटाउँदै थिए। तर, त्यसैबेला मजदुरीका लागि धुलिखेल गएका उपेशको करेन्ट लागेर मृत्यु भयो।
धुलिखेल नगरपालिका–७ मा ११ हजार भोल्टको लाइन रहेको पोलमा चढेर काम गर्दा विद्युत लाइन खुलै रहँदा उपेशको घटनास्थलमै ज्यान गयो। उनी ठेक्कापट्टामा काम गर्दै थिए।
घरमा छानो छैन, कमाउने हात पनि गुम्यो। अब परिवारसँग न त सुरक्षित बास छ, न त स्थायी आम्दानीको स्रोत। श्रीमती र दुई सन्तानसहितको परिवारमाथि जीवन यापनको गम्भीर संकट देखिएको छ।
उपेशको मृत्युले गाउँ नै स्तब्ध छ। गाउँलेहरूले छानो हाल्ने योजना बनाइरहेका बेला आएको दुःखद खबरले सबैलाई पीडित बनाएको छ। वडाध्यक्षदेखि छिमेकीसम्म पीडित परिवारका लागि राहतको पहल गरिरहेका छन्, तर तत्कालीन पीडा गहिरो छ। एकैचोटि प्रकृति र प्रविधि दुवैले चोट दिएपछि परियार परिवारको भविष्य अन्धकारमा परेको छ।