काठमाडौं, जेठ ४ :

राप्रपाका सांसद ज्ञानबहादुर शाहीले धुलिखेलमा विद्युत् खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएकोमा आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले यो घटना दुर्घटना नभई नेपाल विद्युत् प्राधिकरणको लापरबाहीका कारण भएको बताए।

सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ का २८ वर्षीय उपेश परियारको शनिबार धुलिखेल नगरपालिका–७ मा रहेको खम्बामा काम गर्ने क्रममा करेन्ट लागेर ज्यान गएको थियो। उक्त खम्बा काभ्रेपलाञ्चोक वितरण केन्द्रमार्फत विस्तार गरिएको हो। सांसद शाहीले यस्तो लापरबाही गर्ने निकायलाई कारबाही गर्न माग गरे।

 साथै, उनले फरक विचार राख्ने व्यक्तिलाई पक्राउ गरिएको भन्दै सरकारप्रति पनि आपत्ति जनाए। उनले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रता सरकारले दबाउन खोजेको आरोप लगाए।