काठमाडौं, जेठ ४ :

काभ्रेको धुलिखेलमा विद्युत् पोलमा करेन्ट लागेर मृत्यु भएका सर्लाही ईश्वरपुर नगरपालिका–१२ निवासी उपेश नेपालीका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति भएको छ।

विद्युत् लाइन मर्मतको जिम्मा लिएको सुदिपा निर्माण सेवाका प्रोपाइटर दीपक धिताल र मृतककी श्रीमती रश्मिला नेपालीबीच भएको सहमतिअनुसार सात दिनभित्र संयुक्त खातामार्फत १० लाख रुपैयाँ क्षतिपूर्ति रकम जम्मा गरिनेछ। साथै, मृतकका छोराछोरीको शिक्षा र परिवारको पालनपोषनका लागि सहयोग गरिनेछ।

नेपाल विद्युत् प्राधिकरणको काभ्रे वितरण केन्द्रले पनि दुर्घटना क्षतिपूर्ति विनियमावलीअनुसार थप राहत उपलब्ध गराउनेछ। मृतक उपेशकी श्रीमती रश्मिलालाई रोजगारीको व्यवस्था गर्ने विषयमा समेत सहमति भएको छ। उनको योग्यता र घर नजिकको सुविधालाई ध्यानमा राखी नेपाल विद्युत् प्राधिकरणकै केन्द्रमा रोजगारी सुनिश्चित गरिने सहमति छ।