माेरङ, जेठ ५ :

कोसी प्रदेशका चारजना सांसद सवार गाडी मोरङमा दुर्घटनामा परेको छ। सोमबार दिउँसो करिब २ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी गाउँपालिका–७ मा दुई गाडी आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

झापाबाट विराटनगरतर्फ आउँदै गरेका सांसदहरू सवार बीएई १४०६ नम्बरको कार र बेलबारीबाट झापा जाँदै गरेको बा. ५ च ३५३० नम्बरको कार एकापसमा ठोक्किएका हुन्।

सांसदको गाडी भेशराज श्रेष्ठले चलाएका थिए। उक्त गाडीमा सांसद मैया श्रेष्ठ लावती, राधाकृष्ण खनाल, नम्बरलाल धिमाल र विद्या चाम्लिङ सवार थिए।

अर्को गाडी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले चलाइरहेका थिए। मोरङ प्रहरीका अनुसार दुर्घटनामा परेकाहरूको अवस्था सामान्य रहेको छ। सांसदहरू कोसी प्रदेशसभा बैठकमा सहभागी हुन विराटनगर जाँदै थिए।