
काठमाडौं, जेठ ५ :
खानेपानी मन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध पानी वितरणको औपचारिक सुरुआत गरेका छन्। सोमबार आयोजित कार्यक्रममा मन्त्री यादवले मेलम्चीको पानी पिएर अभियानको शुभारम्भ गरेका हुन्।
उनका अनुसार अबदेखि सिंहदरबार क्षेत्रमा प्रयोग हुँदै आएको बोतल र जारको पानी विस्थापित भई मेलम्चीको सुरक्षित र भरपर्दो पानी आपूर्ति हुनेछ।
मन्त्री यादवले यस कदमलाई सुशासन, पारदर्शिता र जनसेवाप्रतिको प्रतिबद्धताको रूपमा व्याख्या गरे। उनका अनुसार मेलम्चीको पानी प्रयोगले खर्च कटौतीसँगै प्रशासनिक क्षेत्रमा पारदर्शी र दिगो अभ्यासको थालनी हुनेछ।
कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्य, केयुकेएल प्रतिनिधि, विभागीय प्रमुखहरू तथा कर्मचारीको उपस्थिति थियो।