
सूर्तीजन्य पदार्थ नियन्त्रणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विशेष सम्मान प्रदान गरेको छ।
सन् २०२५ का लागि ‘महानिर्देशक विशेष सम्मान अवार्ड’ प्रदान गर्ने निर्णय अनुसार जेनेभामा आयोजित डब्ल्यूएचओको ७९औँ सभामा डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम घेब्रेयेससले नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई उक्त सम्मान हस्तान्तरण गरेका हुन्।
हरेक वर्ष विश्व सूर्तीजन्य पदार्थविरुद्धको दिवस (मे ३१) को अवसरमा डब्ल्यूएचओले सूर्ती नियन्त्रणमा विशेष योगदान पुर्याउने व्यक्ति वा संस्थालाई सम्मान गर्दै आएको छ। यसै क्रममा सन् २०२५ का लागि नेपाललाई छनोट गरिएको हो।
मन्त्री पौडेलले सूर्तीजन्य पदार्थ नियन्त्रणलाई प्राथमिकतामा राख्दै, सुर्तीजन्य उत्पादनको बट्टाको अगाडि र पछाडि दुबै भागमा १०० प्रतिशत चेतावनीपूर्ण सूचना राख्नुपर्ने व्यवस्था ल्याएका थिए। यो निर्णय हाल कार्यान्वयनको प्रक्रियामा छ।
डब्ल्यूएचओले नेपाल सरकारको यो कदमलाई अत्यन्तै सकारात्मक र प्रभावकारी मानेको छ। सूर्तीजन्य पदार्थको प्रयोग न्यूनीकरणतर्फ जान यो नीति प्रभावकारी हुने विश्वास गरिएको छ।