
काठमाडौं, जेठ ५ :
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीविरुद्ध नक्कली पत्र लेखेको अभियोगमा पक्राउ परेका सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।
न्यायाधीश दिनबन्धु बरालको इजलासले विष्टलाई धरौटीमा छोड्न आदेश दिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार विष्ट धरौटी बुझाएर रिहा भएका छन् ।
विष्टले अनधिकृत रूपमा पत्र लेखी चौधरीलाई पक्राउ गरी डिल्लीबजार कारागार चलान गर्न भनेका थिए । सो पत्र लिएर उनी आफैं प्रहरी कार्यालय पुगेपछि चौधरीलाई पक्राउ गरी कारागार चलान गरिएको थियो । तर पत्र आधिकारिक नभएको पुष्टि भएपछि चौधरी रिहा भए भने विष्टलाई लिखतसम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।