काठमाडौं, जेठ ७ :

देशभर प्रि–मनसुन गतिविधि सक्रिय बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव देखिएको छ।

मौसमविद्हरूका अनुसार प्रि–मनसुन प्रणाली सामान्यतया मार्चदेखि मेसम्म सक्रिय रहने गर्छ। अप्रिल महिनाभरि सुख्खा रहे पनि मे लागेपछि देशभर बादल लाग्ने, वर्षा हुने, हावाहुरी, चट्याङ र मेघगर्जन हुने क्रम तीव्र भएको छ।

जलवायुविज्ञ ङमिन्द्र दाहालका अनुसार प्रि–मनसुन उत्तर–पश्चिमबाट आउने चिसो हावा र दक्षिण–पश्चिमबाट आउने तातो हावाको लुकामारी हो। यही कारण कतै पानी परेपछि चिसो र कतै न्यानोपन महसुस हुन्छ।

पहिले-पहिले दुई दिनमा पर्ने पानी अहिले दुई घन्टामै पर्ने गरेको तथ्याङक छ।  जलवायु परिवर्तन र भू–उपयोगमा आएको परिवर्तनले प्रि–मनसुनमै बाढी, पहिरोजस्ता जोखिम बढाएको  छ।

वर्षभर पर्ने कुल वर्षामध्ये ८० प्रतिशत मनसुनका चार महिनामा पर्ने र बाँकी २० प्रतिशत अन्य समयमा पर्ने भए पनि अहिले प्रि–मनसुनकै समयमा बढी वर्षा देखिएको दाहाल बताउँछन्।

यस वर्ष औसतभन्दा ५–१० प्रतिशत बढी वर्षा हुने पूर्वानुमान गरिएको छ। मनसुनजन्य विपद् पनि बढी हुने सम्भावना छ। मौसमविद् डेबिड ढकालका अनुसार हाल प्रि–मनसुन प्रणाली नै चलिरहेको छ । सामान्यतया मनसुन जुन १३ मा पूर्वी नेपालबाट भित्रने र अक्टोबर २ मा पश्चिमबाट बाहिरिने गर्छ।