सुर्खेत, जेठ ८ :

सुर्खेत विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको छ। धावनमार्ग (रनवे) मा खाल्डो परेपछि सुरु गरिएको मर्मतका क्रममा जमिनमुनिबाट पानी निस्किएपछि पुनः बन्द गर्नुपरेको हो।

मंगलबार धावनमार्गको उत्तरतर्फ एकाएक खाल्डो परेपछि मर्मत सुरु गरिएको थियो। खाल्डो पुर्ने क्रममा सोही स्थान नजिकै जमिनमुनिबाट पानी निस्किन थालेपछि उडान अवरुद्ध भएको विमानस्थल प्रमुख हिराजन काफ्लेले जानकारी दिए।

उनका अनुसार पानी निस्किएको स्थानमा तत्काल मर्मत कार्य भइरहे पनि दीर्घकालीन समाधानका लागि भौगर्भिक परीक्षण आवश्यक छ। शनिबारसम्म मर्मत कार्य सकिने र उडान सेवा पुनः सुरु हुने अपेक्षा गरिएको छ। विमानस्थल बन्द हुँदा सुर्खेतबाट हवाई यात्रा गर्ने यात्रुहरू हाल नेपालगन्ज पुग्न बाध्य भएका छन्।