चितवन, जेठ ८ :

सशस्त्र प्रहरी बलद्वारा विपद् व्यवस्थापनका लागि कुरिनटारमा सञ्चालन गरिएको गोताखोर तालिम  सम्पन्न भएको छ। तालिम समापनको अवसरमा प्रशिक्षार्थीहरूले त्रिशूली नदीमा गोताखोर सीपको डेमो देखाए।

इच्छाकामना गाउँपालिका–४ स्थित त्रिशूली नदी किनारमा रहेको शिक्षालयमा २०८१ चैत २५ गतेदेखि सुरु गरिएको ३० दिने तालिममा २० जना सशस्त्र प्रहरी सहभागी थिए।

तालिममा जलमा उद्दार, गोताखोरी प्रविधि, बाढी तथा डुबानका समयमा खोज तथा उद्धार गर्ने सीप लगायतका विषयमा व्यावहारिक र सैद्धान्तिक ज्ञान प्रदान गरिएको थियो। डेमो प्रदर्शनीमा प्रशिक्षार्थीहरूले आकस्मिक विपद्‌का समयमा खोज तथा उद्धार कसरी गर्न सकिन्छ भन्ने कुरा अभ्यासका रूपमा देखाएका थिए।

शिक्षालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा आयोजित समापन समारोहमा सुरक्षा निकायका प्रतिनिधि, स्थानीय तहका पदाधिकारी तथा अन्य सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो। सशस्त्र प्रहरी बलले विपद्‌का बेला राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन यस्ता तालिमलाई निरन्तरता दिँदै आएको छ।

 

 

 

 

 

तस्बिर : रासस