काठमाडौं, जेठ ९ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जापान इन्टरनेसनल को-अपरेसन एजेन्सी (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोसँग भेटवार्ता गरेकी छन् ।

टोकियोस्थित जाइकाको मुख्यालयमा भएको भेटमा नेपाल-जापान द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा कुराकानी भएको राणाको सचिवालयले जनाएको छ ।

भेटका क्रममा राणाले नेपालको आर्थिक, सामाजिकलगायत विविध क्षेत्रमा विगत लामो समयदेखि जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगका लागि नेपालका तर्फबाट धन्यवाद दिइन् ।

जाइकाले नेपालका लागि आधारभूत सहयोग नीतिमार्फत आर्थिक वृद्धि र गरिबी निवारण, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तन तथा सुशासन एवं प्रजातन्त्रको सुदृढीकरण जस्ता क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।

राणाले त्यस अवसरमा पछिल्लो समयमा नागढुंगा सुरुङमार्गको निर्माण, सिन्धुली बर्दिबास सडकको पुनर्निर्माण एवं मर्मत-सम्भारलगायत नेपालका कैयौं क्षेत्रमा जाइकामार्फत जापान सरकारले पुर्याउँदै आएको सहयोगको सराहना गरेकी हुन् ।

भेटमा उनीहरुबीच नेपाल-जापान सम्बन्ध, जाइकाले नेपाललाई गरिरहेको सहयोग, जलवायु परिवर्तन र यसको असर, विपद् व्यवस्थापन, सुशासन र ज्येष्ठ नागरिकसम्बन्धी विषयमा पनि  कुराकानी भएको थियो ।