काठमाडौं, जेठ ९ :

गभर्नर विश्वनाथ पौडेलको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ ।

अधिवक्ताहरू अनन्तराज लुइँटेल, विशाल थापा र प्रतिभा उप्रेतीले पौडेलको नियुक्तिविरुद्ध सर्वोच्च अदालत प्रशासनमा शुक्रबार निवेदन दिएका हुन् ।

यसअघि पौडेलको नियुक्ति रोक्न माग गर्दै उनीहरूले नै रिट दिएका थिए । तर त्यो रिट अपरिपक्व भन्दै सर्वोच्चले दरपिठ गरिदिएको थियो ।

सर्वोच्चमा पेस भएको निवेदनमा पौडेल राजनीतिक व्यक्ति भएको, मौद्रिक क्षेत्रको अनुभव नभएको र संस्थागत कार्यानुभवसमेत नभएको दाबी गरिएको छ ।

मन्त्रिपरिषद् बैठकले पौडेललाई वैशाख ६ गते नेपाल राष्ट्र बैंकको गभर्नर पदमा नियुक्त गरेको थियो । उनले त्यसको भोलिपल्ट (वैशाख ७ गते) शपथग्रहण गरी पदभारसमेत सम्हालिसकेका छन् ।