काठमाडौं, जेठ ९ :

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधारको विकास र कनेक्टिभिटी बढाउन आग्रह गरेका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोग तथा नेपाल पर्यटन बोर्ड र पर्यटन नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आयोजनामा आज (शुक्रबार) देखि काठमाडौंमा सुरु भएको तेस्रो बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्टको उद्घाटनका अवसरमा उनले कनेक्टिभिटीका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप प्रभावकारी बनाउनु पर्ने सुझाए ।

मार्टले नेपाललाई बौद्ध पर्यटन केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने उल्लेख गर्दै अध्यक्ष ढकालले मार्टलाई थप परिष्कृत गर्न र नेपालका लागि ब्रान्डका रूपमा विकास गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा दुई छिमेकी देशहरू भारत र चीनमा बौद्ध अनुयायीहरूको संख्या ठुलो छ । उनीहरू पनि यहाँ आउन इच्छुक देखिन्छन् । हामीले तिनीहरूलाई ल्याउन तदनुसार ब्रान्डिङ र प्याकेजहरू तयार गर्नुपर्छ,’ उनले भने ।

ढकालले बौद्ध पर्यटन प्रवर्धनका लागि नेपालको लुम्बिनी सहित बुद्धसँग सम्बन्धित बौद्ध तीर्थस्थलहरू तथा भारतमा रहेका तीर्थस्थलहरूसँग जोडेर बौद्ध सर्किट विकास गर्नुपर्ने बताए । उनले विश्वभरका बौद्ध धर्मावलम्बीलाई कम्तिमा एकपटक बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुपर्छ भन्ने सन्देश दिन तथा सोहीअनुरुप पर्यटक आगमन बढाउन सके नेपालको पर्यटनको सम्पूर्ण आयाम परिवर्तन गर्न सकिने धारणा राखे ।

उनले अर्बौंको लागतमा गौतम बुद्ध तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि पूर्ण रुपमा सञ्चालनमा आउन नसकेकाले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न ठोस पहल गर्न सरकारसँग आग्रह गरे । ‘गौतम बुद्धको जन्मस्थल लुम्बिनीको सम्भावना र सोही विमानस्थललाई हेरेर निजी क्षेत्रले ठूलो लगानी गरेको छ । तर, विमानस्थल सञ्चालनमा नआउँदा लगानी गुम्ने जोखिम बढेको छ,’ अध्यक्ष ढकालले भने, ‘यो कुरा पोखरा विमानस्थलमा पनि लागु हुन्छ । यसप्रति सरकार संवेदनशील हुन आवश्यक छ ।’

बीआईटीएमले लुम्बिनीमा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूको बसाई लम्ब्याउन र लुम्बिनीलाई एक महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि मद्दत गर्ने धारणा राखे । ‘लुम्बिनीको आध्यात्मिक वातावरण ध्यान कक्षाहरू प्रदान गर्न उपयुक्त छ । आजको द्रुत गतिको संसारमा, धेरै मानिसहरू शान्ति, सजगता र दैनिक तनावबाट विश्राम खोजिरहेका छन्,’ उनले भने, ‘लुम्बिनीले स्वास्थ्य पर्यटनका लागि आदर्श शान्त वातावरण प्रदान गर्दछ । हामी विभिन्न प्रकारका कल्याण कार्यक्रमहरू विकास गर्न सक्छौं ।’

उनले नेपालको हवाई भाडा महँगो रहेको र सरकारले टिकटमा भ्याट लगाउँदा भाडा थप महँगो भएको बताउँदै यसमा समीक्षा गर्न आग्रह गरे ।

नेपाललाई विवाह, बैठक र सम्मेलन पर्यटनका लागि गन्तव्यका रूपमा विकास गर्न सकिने धारणा राख्दै उनले नेपालको सीमावर्ती क्षेत्रहरूमा लगभग १५ करोड भारतीय मध्यमवर्गमा प्रवेश गरेको अवस्थामा भारतीय पर्यटकले नेपाल आउँदा २५ हजार भारतीय रुपैयाँ मात्र ल्याउन सक्ने प्रावधानलाई परिमार्जन गर्न र अन्य देशहरूबाट आउने पर्यटकले जस्तै नेपालमा मान्य हुने ५ हजार अमेरिकी डलरसम्मको मुद्रा ल्याउन पाउने व्यवस्था गरिनुपर्ने सुझाव दिए ।

नेपालमा पर्यटनको विशाल सम्भावनालाई ध्यानमा राख्दै, सरकार र निजी क्षेत्रले मिलेर यसबाट लाभ उठाउन सक्ने उल्लेख गर्दै अध्यक्ष ढकालले विदेशी लगानीकर्ताहरूलाई पनि नेपालमा पर्यटन क्षेत्रमा पर्याप्त सम्भावना भएकोले लगानी गर्न आग्रह गरे ।