
काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादीको हिंसात्मक घटनाको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।
प्रहरीले १०८ जनालाई प्रतिवादी बनाउने रायसहितको प्रतिवेदन बुझाएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनीहरूमाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग, राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधको मुद्दा चलाउन प्रहरीको राय छ ।
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरालाई राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अभियोजन गर्नुपर्ने प्रहरीको राय छ ।
मिश्र र राणालाई हाजिरी जमानीमा राखिएको छ । यस्तै प्रदर्शनमा कमान्डर रहेका दुर्गा प्रसाईं भने हिरासतमै छन् । प्रतिवादी बनाउनुपर्ने भनेर राय दिइएका मध्ये १८ जना फरार छन् ।
उक्त आन्दोलनमा परि दुईजनाले ज्यान गुमाएका थिए ।