
हेटौंडा, जेठ १० :
हेटौंडा-काठमाडौं जोड्ने कान्तिलोकपथ सडक १२ घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
शुक्रबार साँझ बगुवा खोलामा आएको बाढीले ललितपुरको बागमती गाउँपालिका-२ र मकवानपुरको भीमफेदी गाउँपालिका–८ बीचको डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको थियो।
मकवानपुरका डिएसपी श्यामु अर्यालका अनुसार सडक अहिले पूर्ण रूपमा सञ्चालनमा आएको छ। बाढीका कारण सडक बन्द हुँदा रात्रिकालीन यात्रु बाटोमै अलपत्र परेका थिए।
गत असोजमा बाढीले बागमती पुलको मकवानपुरतर्फको भाग बगाएपछि अस्थायी डाइभर्सनबाट सडक सञ्चालन हुँदै आएको हो। यसअघि पनि ५ जेठमा डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको थियो।