
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले खोजमूलक पत्रकारिता गर्नुपर्नेमा जोड दिएका छन्।
पोखरामा सञ्चार मन्त्रालय र सञ्चारिका समूह गण्डकीले शनिबार आयोजना गरेको छलफल कार्यक्रममा मन्त्री गुरुङले तथ्यमा आधारित अनुसन्धानात्मक पत्रकारिताले मात्र वास्तविकता उजागर गर्न सक्ने बताए। उनले सूचनाको हक नागरिकको आधारभूत अधिकार भएकाले सूचना प्रवाह व्यवस्थित, मर्यादित र सार्वजनिक प्रसारणमार्फत सुनिश्चित गर्नुपर्ने बताए।
सञ्चारमन्त्री गुरुङले साइबर अपराध नियन्त्रणका लागि तयारी भइरहेको जानकारी दिँदै साइबर सुरक्षा विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको र चाँडै संसद्मा पेस हुने जानकारी दिए। साथै, मिडिया काउन्सिल विधेयक छिट्टै पारित गर्ने र आचारसंहिताविपरीतका गतिविधि नियमन गरिने बताए।
उनले गणतन्त्रपछि सरकारका विकास र समृद्धिका प्रयासहरू जनतालाई सकारात्मक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे।
सोही अवसरमा ‘सञ्चारिका पत्रकारिता पुरस्कार–२०७९’ आयुक्त दुर्गा भण्डारीलाई र २०८० को पुरस्कार राससकर्मी जमुना शर्मालाई प्रदान गरिएको थियो। ‘गुरुङ ब्युटी एकेडेमी पत्रकारिता अवार्ड’ पत्रकार देवी जिसीले प्राप्त गरिन्।