
काठमाडाैं, जेठ १० :
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले माओवादी विद्रोहकालमा जनतामाथि गरिएको हिंसालाई चरम कायरता भनेका छन्।
काठमाडौंमा शनिबार आयोजित स्व. खगेन्द्रराज रेग्मीको स्मृति सभालाई सम्बोधन गर्दै उनले माओवादीले जनताको अधिकारका नाममा सर्वसाधारणमाथि गोली चलाएको र समाज परिवर्तनमा भूमिका खेल्न सक्ने व्यक्तिहरूलाई निशाना बनाएको बताए।
उनले भने, ‘जनताको पक्षमा भन्दै आफ्नै नागरिकमाथि गोली चलाउनु माओवादी हिंसाको चरम कायरता थियो।’ सिटौलाले यस्ता प्रकृतिका घटनाहरुबारे अहिले चर्चा गर्दा माओवादीका नेताहरुले पनि गल्ती गरेको महसुस गर्ने बताए।
उनले कांग्रेसले पञ्चायतकालदेखि नै जनअधिकारका लागि लड्दै आएको स्मरण गरे ।उनको भनाइमा, लोकतन्त्र र जनअधिकारका लागि दीर्घकालीन संघर्ष गर्ने पार्टी कांग्रेस नै हो ।