कैलाली, भदौ १९ :

गृहमन्त्री रमेश लेखकले देशका पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने कुरा सामान्य नहुने बताउनुभएको छ ।

प्रेस युनियन कैलालीले आज धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले विशिष्ट परिस्थितिमा नेपाली काँग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर सरकार बनाएको बताउनुभयो । 

उहाँले सामान्यतया संसदीय अभ्यासमा देशको पहिलो र दोस्रो दल मिलेर सरकार बनाउन नमिल्ने भएपनि विशिष्ट परिस्थितिमा मात्रै मिलेर सरकार बनाउने गरेको उल्लेख गर्नुभयो । 

इतिहासमा काँग्रेस र एमाले मिल्दा सुखद परिणाम प्राप्त गरेको पनि उहाँको भनाइ छ । देशमा भएका महत्वपूर्ण एजेन्डालाई आफूहरूले मिलेर सम्बोधन गरेको उहाँको भनाई छ ।

गृहमन्त्री लेखकले स्थिर सरकारका लागि स्थिर समीकरण बनाउनु परेको उल्लेख गर्दै शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन, भष्ट्राचार नियन्त्रण गरेर सुशासन कायम गर्न, विकास निर्माणका गतिविधिलाई द्रुत गति दिन तथा मुलुकमा विधिको शासन स्थापना गर्न नयाँ समीकरण बनेको स्पष्ट पार्नुभयो ।

उहाँले नेपाली काँग्रेसले निरङ्कुश पञ्चायती व्यवस्थासँग लड्नका लागि कम्युनिष्टसँग मिलेर बहुदलीय प्रजातन्त्रको स्थापना गरेको र दश वर्षे माओवादी सशस्त्र सङ्घर्षलाई पनि मिलेर नै शान्तिमा रूपान्तरण गर्न सफल भएको स्मरण गराउनुभयो ।