
ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर जेठको अन्तिमदेखि सञ्चालनमा आउने भएको छ। आइतबार स्थलगत निरीक्षण गरेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाइओभरको सबै काम जेठको अन्त्यसम्म सम्पन्न गरी सवारी सञ्चालन गरिने जानकारी दिए।
हाल फ्लाइओभरको एकतर्फ कालोपत्रे सकिएको छ भने अर्कोतर्फको कालोपत्रे तयारी चरणमा रहेको छ। काम सम्पन्न भएपछि गाडी चलाउन दिने मन्त्री दाहालले बताए। उनले फ्लाइओभर सञ्चालन भएपछि क्षेत्रको ट्राफिक जाम कम हुने विश्वास पनि व्यक्त गरे।
फ्लाइओभर निर्माणका लागि सडक विभागले ईपीसी मोडलमा २०७८ माघमा आरसी, समानान्तर र रेलिग्रे जेभीसँग सम्झौता गरेको थियो। निर्माण कार्य ढिलाइ हुँदा पटकपटक म्याद थप गरिएकोमा अन्तिम म्याद पुस ८ गते सकिएको हो। म्याद सकिए पनि कम्पनीले काम जारी राखेको छ।
मन्त्री दाहालले आयोजना समयमै सम्पन्न नहुनुमा देखिएका समस्यालाई समाधान गर्न कानुनी संशोधनको तयारी भइरहेको पनि बताए। साथै, वर्षायाममा सडक अबरुद्ध हुन नदिन विभाग हाइअलर्टमा रहेको जानकारी दिए।