काठमाडौं, जेठ ११ :

संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) क्षेत्रलाई मजबुत बनाउन र नेपाल-भारतबीचको सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले बिफक्याप नेपालको आयोजना तथा ‘जी’ फाउन्डेसनको सहकार्यमा इन्डो नेपाल सीएसआर समिट काठमाडौंमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले नेपालमा सीएसआरका रकमहरु खर्च गर्ने सन्दर्भमा त्यति धेरै प्रभावकारी नभइरहेको र कर्पोरेट कम्पनीहरुले यसलाई ध्यान दिन नसकिरहेको बताएकी थिइन् ।

उनले सीएसआरका कार्यक्रमहरुले ठुलो प्रभाव पार्ने र धेरै नेपाली समाजहरु लाभान्वित हुनसक्ने बताइन् । ‘हामीले सीएसआरको पोलिसी बनाउन बहसहरु गरिरहेका छौँ,’ उनले भनिन्, ‘यसमा कर्पोरेट कम्युनिटिजहरुले पनि बहस गर्न जरुरी छ । सीएसआर भनेको पैसा मात्रै होइन । यो व्यवसायको कर्तव्य र समाजसेवा पनि हो ।’

कार्यक्रमका विशिष्ट वक्ता नेपाल इन्डिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका उपाध्यक्ष एवं सूर्य नेपालका प्रबन्ध निर्देशक रवि रायवरमले सीएसआरजस्तो महत्त्वपूर्ण छलफल भएको पाउँदा खुसी भएको उल्लेख गरे ।

कार्यक्रममा बिफक्याप नेपालका सीईओ मनोज रेग्मीले सीएसआर समिटबाट प्राप्त रकमले पूर्वी नेपालका ३ वटा जिल्ला भोजपुर, सोलुखुम्बु र खोटाङका ४०० उद्यमीलाई वित्तीय साक्षरता पनि दिने जानकारी दिए । यस्तै आगामी वर्ष एसिया सीएसआर समिट पनि गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपालका सांसद, मन्त्रालयका उच्चपदस्थ व्यक्तित्व तथा भारत र नेपालका वरिष्ठ सीएसआर विशेषज्ञहरु तथा विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रमुखहरु, निजी क्षेत्रका प्रतिनिधहरुको उपस्थिति थियो ।