काठमाडौं, जेठ ११ :

सहकारीमा राखेको बचत रकम फिर्ता गराउन माग गर्दै सहकारी पीडितहरूले  आज (आइतबार) माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गरेका छन्। यसअघि महिलाहरूले प्रदर्शन गरेका थिए भने यसपटक पुरुषहरू अर्धनग्न रूपमा सडकमा उत्रिएका हुन्।

सरकारबाट पटक–पटक आन्दोलन गर्दा पनि न्याय नपाएको भन्दै उनीहरूले आफूहरू अर्धनग्न हुन बाध्य भएको बताएका छन्। ‘नाङ्गो हुनु बाध्यता हो, रहर होइन’ भन्ने नारासहित उनीहरूले सरकारलाई सहकारीको सम्पत्ति लिलामी गरेर भए पनि रकम फिर्ता गराउन माग गरे।

प्रदर्शनमा सहभागीहरूले ‘कोष खडा गर,’ ‘बिचौलियाको खेल बन्द गर’, ‘महासंघको प्रस्ताव कार्यान्वयन गर’ भन्ने प्लेकार्ड बोकेका थिए। पीडितहरूले माग सुनुवाइ नभए अझ कडा कदम चाल्न तयार रहेको चेतावनी दिएका छन्। उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।