
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीले स्थानीय तहका निर्वाचित वडाध्यक्षहरुले जनता र पार्टीसँगको घनिष्ट सम्बन्धलाई सुदृढ बनाएर विकास र सुशासनका लागि काम गर्नुपर्ने बताएका छन् ।
एमालेको बागमती प्रदेशस्तरीय जननिर्वाचित वडाध्यक्षहरुको प्रशिक्षण कार्यक्रमको आइतबार उद्घाटन गर्दै ओलीले जनतालाई छिटो र सहज सेवाका साथै विकास र सुशासन कायम गर्ने क्रममा निर्वाचित पालिकाका प्रमुख, उपप्रमुख अरु पार्टी र पक्षसँग पनि राम्रो सम्बन्ध कायम गरी काम गर्न आग्रह गरेका हुन् ।
‘तपाईंहरु पार्टीबाट निर्वाचित भएर जिम्मेवारीमा गएको हो । निर्वाचन जितेपछि चङ्गाको धागो काटिएजस्तो पार्टीसँगको सम्पर्क काटिनु हुँदैन । मैले जितेँ, मलाई अरु मतलब छैन भन्न मिल्दैन । अर्को निर्वाचन पनि आउँछ । त्यसकारण तपाईंहरुले अहिले पार्टीका नीति, निर्देशनहरुलाई पालना गर्दै देश र जनताको सेवामा सक्रिय रहनुपर्छ,’ उनले भने, ‘यो पार्टी वास्तविक जनतन्त्रका लागि बनेको हो । देशको स्वाधीनता र भौगोलिक अखण्डताका पक्षमा दृढ भएर लाग्ने पार्टी हो । एमाले देशको नायक पार्टी हो । तथाकथित वामपन्थीहरु एमालेलाई धुलो चटाउँछु, टर्च लाइट बालेर खोज्न नभेटिने बनाउँछु भनेर अनेक षड्यन्त्रमा उत्रिए तर हामीले ती षड्यन्त्रहरु चकनाचुर बनाएर अगाडि बढेका छौँ ।’
एमालेलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ मा जुट्न जनप्रतिनिधिलाई केपी ओलीको आग्रह
आफूहरुले कम्युनिस्ट भनेर पार्टी एकता गरेपछि लगभग दुईतिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजेको उनको टिप्पणी छ । उनले देशलाई बनाउन नदिने देशी-विदेशीहरुको एमालेमाथिको आक्रमण देशकै विरुद्धको आक्रमण भएको बताए । ‘उनीहरु खासमा कम्युनिस्ट थिएनन् । उनीहरुले अरुको विरोध नगरी एमालेको मात्रै विरोध गर्छन् । अनि वामपन्थीको एकता हुनुपर्छ भनेर उनीहरुले भन्दा हाम्रा कतिपय साथीहरु हो कि भन्ने गलत बुझाइमा पर्छन्,’ ओलीले भने, ‘कम्बोडियामा मेरो ३२ अर्ब लगानी छ भनेर हल्ला फिँजाउने पुष्पकमल दाहाल हो । त्यसको पछि लाग्नेहरु माधव नेपाल र झलनाथ खनालहरु हुन् । माधव र झलनाथले पार्टी प्रमुख हुँदा प्रभावकारी रुपमा चलाउन सकेनन् । पछिसम्म पार्टीचाहिँ कब्जामा लिएर बस्न खोजे । हामीले निकम्मा, बेठीक र परनिर्भर नेतृत्व विस्थापन गरेर समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ पार्टीलाई अगाडि बढाउँदा त्यस्ताहरुलाई चित्त बुझेन अनि हामीविरुद्ध षड्यन्त्रमा लागेका छन् । देशी विदेशी प्रक्रियावादीहरुले हामीलाई लडाउन खोजेका छन्, त्यसमा सजग भएर आपसी द्वन्द्व र खिचातानीका प्रवृत्तिमा हामी जान हुँदैन । यो कुरा हामीले जनतासमक्ष बुझाउनुपर्छ ।’
उनले राजतन्त्र फर्कने कुनै आधार नभए पनि प्रतिगामी तत्त्वहरु सल्बलाउँदा एमालेहरुको मनोबल गिर्न नहुने उल्लेख गरे । लाज नमानीकन जनतालाई रैती हुन पाउँ भन्नेहरुले फैलाउने भ्रम चिर्न ओलीले आग्रह पनि गरे । ओलीले प्रतिगामीहरुले जेठ १५ गते गर्ने प्रदर्शनको विपक्षमा तयारी रहन पनि निर्देशन पनि दिए ।
अहिले भ्रष्टाचारीहरु र सहकारीपीडितले उल्टै भ्रष्टाचारको विरोध र सहकारीलाई न्याय देजस्ता आवाज उठाएर जनतामा भ्रम छरेको पनि अध्यक्ष ओलीको भनाइ छ ।
ओलीले नेकपा माओवादी केन्द्रले २०६४ सालमा आफ्ना लडाकु क्याम्पमा राखेर र मार्चपास गराएर जनतालाई तर्साएर आतंकको राज गरेकाले त्यसबेला आफूहरु पराजित भए पनि माओवादीले २०६४ सालको जस्तो परिणाम ल्याउने सपना देख्नुमा कुनै दम नभएको स्पष्ट गरे । ‘माओवादीको आतंकको छायामा हामीले २०६४ हारेको हो । अब न २०६४ साल आउँछ, न माओवादी आउँछ । यो मुलुकमा एमाले नै मजबुत पार्टी हो । एमालेहरुले आफ्नो यो पहिचान चिन्नुपर्यो । हामीसँग यो मुलुकलाई विकास र सुशासनको नेतृत्व दिने सामर्थ्य छ । त्यसकारण एकापसमा अलमलमा पर्ने र विभाजन नभई आफ्नो शक्तिलाई सुदृढ गरौँ । पार्टीलाई स्पष्ट बहुमतमा ल्याउने मिसन २०८४ का लागि जुटौं ।’