
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बर्खा सुरु भएसँगै देखिन सक्ने स्वास्थ्य महामारी नियन्त्रणका लागि सक्रियता बढाएका छन् ।
मन्त्रालयमा महामारीजन्य विपद्को तयारीमा सक्रिय विभिन्न विभाग तथा महाशाखा प्रमुखसँग बैठक गर्दै मन्त्री पौडेलले समयमै सजगता अपनाउन र आवश्यक तयारी थाल्न निर्देशन दिए ।
‘वर्षाको सिजन सुरु भइसकेको छ,’ उनले भने, ‘पानी तथा कीटजन्य महामारीबाट जोगिन आ-आफ्ना तर्फबाट आजै तयारी थाल्नुहोला ।’
मन्त्री पौडेलले विपद् आएपछि मात्र सक्रियता देखिने प्रचलन रहेको भन्दै यसपालि त्यसो हुन नहुने बताए ।
महामारी तथा विपद्जन्य स्वास्थ्य समस्या आउनुअघि नै पूर्वतयारी प्रभावकारी बनाउन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको तयारी बैठक । तस्बिर : पौडेलको सचिवालय
बैठकमा मन्त्री पौडेलले डेंगी फैलन नदिन अहिल्यैदेखि लामखुट्टे नियन्त्रण अभियानको तयारी अघि बढाउन पनि निर्देशन दिए । यस्तै उनले झाडापखाला, टाइफाइड, ज्वरोलगायत महामारी वर्षापछि दूषित पानीका कारण फैलन सक्ने भन्दै सचेतनादेखि सजगताका सबै काम थाल् निर्देशन दिए ।
मन्त्रालयले भारतलगायत देशमा कोभिड देखिएकाले सीमानाकामा कडाइका लागि पर्याप्त व्यवस्थापन गर्न आवश्यक रहेकाले तीनवटै सरकारसँग समन्वय गर्ने गरी काम अघि बढाइरहेको उनले जानकारी दिए ।
मन्त्री पौडेलले महामारी कोष प्रभावकारी बनाएर समयमै नागरिकले राहत पाउने गरी काम हुनुपर्नेमा जोड दिए ।
बैठकले महामारी नियन्त्रणका लागि चाँडै वडा तहसम्मै प्रभावकारी रुपमा पुग्ने गरी तीनै तहको समन्वयात्मक बैठक डाक्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।