
तत्कालीन सभामुख कृष्णबहादुर महरालाई कारागार (झ्यालखाना) पुर्याउने रोशनी शाही मृत फेला परेकी छन् । महराको ‘फर्गेट एस्टडे’ अस्वीकार गर्दै बलात्कार अभियोगमा सभामुख पदबाट च्यूत गराउने ५० वर्षीया रोशनी आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका ३, बालकोटमा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने जाजरकोटकी रोशनी आइतबार दिउँसो २ बजे आसपासमा कोठाभित्रै मृत फेला परेकी हुन् । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
रोशनीको कोठामा सुसाइड नोटसमेत फेला परेको छ । त्यसको पनि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । श्रीमान् कार्यालयको कामले विराटनगर गएका बेला रोशनी कोठाभित्र घोप्टो परेको अवस्थामा मृत फेला परेकी हुन्। प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले आत्महत्या गरेको आशंका गरेको छ। यद्यपि, उनले झुण्डिएको वा विष सेवन गरेको पुष्टि भइसकेको छैन।
सुसाइड नोट भेटियो, तर पुष्टि बाँकी
प्रहरीका अनुसार घटनास्थलमा दुई पृष्ठ लामो एक सुसाइड नोट फेला परेको छ। तर त्यो नोट रोशनीकै हो भन्ने पुष्टि भइनसकेकोले अहिले नै त्यसलाई आधिकारिक रूपमा सुसाइड नोट भन्न नसकिने प्रहरीको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डिराज न्यौपानेले भने, ‘त्यहाँ २ पृष्ठको नोट भेटिएको छ। तर उनकै हो भन्ने प्रमाणित नभएसम्म हामीले त्यसलाई पुष्टि गर्न सक्दैनौं।’
नोटमा रोशनीले आफ्नो मृत्युप्रति कुनैलाई दोष नदिई व्यक्तिगत कारणले यस्तो निर्णय लिएको उल्लेख छ। विदेशमा रहेका छोरासँग माफी माग्दै आफूबाट उनीप्रति हुने कर्तव्य पूरा गर्न नसकेको पीडा व्यक्त गरिएको छ। तर, श्रीमान् चित्रजंग शाहीबारे भने खासै उल्लेख छैन।
डिप्रेशन र औषधि सेवनको पृष्ठभूमि
शाही पछिल्लो केही समयदेखि डिप्रेशनको उपचार गराइरहेकी थिइन्। उनी नियमित औषधि सेवन गरिरहेकी थिइन् र केही समयपहिले पनि आत्महत्या प्रयास गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। यसअघिका घटनाका आधारमा रोशनीले अत्यधिक औषधि सेवन गरी आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
उनको शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज पठाइएको छ। मृत्युको कारण पुष्टि गर्न भिसेरा परीक्षणसमेत गरिनेछ।
ढोका नखुल्दा प्रहरीलाई खबर
आइतबार दिउँसोसम्म कोठाको ढोका नखुल्दा घरबेटीले प्रहरीलाई खबर गरेका थिए। प्रहरी, स्थानीय प्रतिनिधि र छिमेकीको उपस्थितिमा ढोका खोल्दा रोशनी मृत अवस्थामा फेला परेकी थिइन्। उनीहरू तीनतले घरको भुइँतलामा डेरा गरी बसिरहेका थिए।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ। पोस्टमार्टम र फोरेंसिक परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण सार्वजनिक हुने अपेक्षा गरिएको छ।