
काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले तत्काल कार्यपालिका बैठक बोलाउन माग गरेका छन्। सोमबार उनीहरूले संयुक्तरूपमा मेयर बालेन शाहलाई पत्र पठाउँदै गत पुस महिनापछि नबसेको कार्यपालिका बैठक तत्काल बोलाउन आग्रह गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ अनुसार कार्यपालिकाको बैठक कम्तीमा महिनामा एकपटक बस्नुपर्ने कानुनी व्यवस्था छ। तर, करिब ६ महिनादेखि बैठक नबसेपछि नीति निर्माण, विकास योजनाको निर्णय र बजेट निर्माणजस्ता महत्वपूर्ण काम प्रभावित भएको कार्यपालिका सदस्य नवीन मानन्धरले जानकारी दिए।
‘असार १५ सम्म बजेट ल्याउने कानुनी बाध्यता छ, ’उनले भने, ‘तर बैठक नबसी हिँड्दा आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणका प्राथमिकताबारे छलफल नै हुन सकेको छैन।’
उनीहरूले मेयर शाहले बैठक नबोलाएको मात्र होइन, जनप्रतिनिधि र कर्मचारीले खोज्दा पनि भेट्न नसकिएको गुनासो गरेका छन्। उक्त पत्रमार्फत मेयर शाहलाई चाँडोभन्दा चाँडो कार्यपालिका बैठक बोलाएर महानगरका महत्वपूर्ण निर्णयमा सहभागी गराउन आग्रह गरिएको छ।
