काठमाडौं, जेठ १२ :

आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण भोलि (मंगलबार) प्रतिनिधिसभामा पेस हुने भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले संसद्को बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने तयारी गरेका छन्। प्रतिनिधिसभाको बैठक भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।

संसद् सचिवालयद्वारा सार्वजनिक कार्यसूचीअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, वन तथा वातावरणमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम सकिएपछि आर्थिक सर्वेक्षण पेस गरिनेछ।

सरकारले प्रत्येक वर्ष बजेटभन्दा अघिल्लो दिन आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आएको छ। यो सर्वेक्षणले मुलुकको पछिल्लो आर्थिक अवस्था, सरकारका नीति तथा कार्यक्रमको प्रभाव, तथा आर्थिक सूचकांकहरूको विश्लेषण प्रस्तुत गर्छ।

सर्वेक्षणमार्फत आर्थिक वृद्धि, महँगी, व्यापार घाटा, राजस्व संकलन, सार्वजनिक संस्थानहरूको आम्दानी–नाफा–घाटा लगायतका तथ्यांक सार्वजनिक गरिनेछ।

आगामी आर्थिक वर्षको बजेट निर्माणमा यही सर्वेक्षणलाई आधार मानिने भएकाले यसलाई विशेष महत्त्वका साथ हेरिन्छ। सरकारले आगामी जेठ १५ गते नयाँ बजेट प्रस्तुत गर्ने तयारी गरेको छ।