
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समक्ष स्पष्टीकरण बुझाएका छन् । स्पष्टीकरण सोधेको ६ दिनपछि पाण्डेले जवाफ दिएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै गत जेठ ६ मा पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधेका थिए ।
सात दिनभित्र स्पष्टीकरण पेस नगरे वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको थियो । नगर प्रहरी प्रमुख पाण्डेले मेयर बालेन्द्र शाहको मात्र पक्षपोषण गरेको आरोप छ ।
मेयरको आदेश भन्दै पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न रोक लगाएका थिए । उपमेयर सुनिता डंगोल,केही वडाध्यक्ष र कर्मचारीको बलमा त्यस दिन गुरागाईंले कार्यकक्षमा प्रवेश गर्न पाएका थिए । गुरागाईंले त्यसैको बदला स्वरुप पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् भन्ने राजनीतिक वृत्तमा चर्चा छ ।