
मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका ३ मा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
त्रिभुवन राजपथ खण्डको गोपाली गाँउबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा.३ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिडिँरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो ।
सोमबार साँझ भएको बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।
मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले जनाए । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।
बस दुर्घटनामा चारजना घाइते भएका छन् । घाइतेहरू ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था चिन्ताजनक छ । उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।
घाइतेहरू बारा जितपुरसिमरा उपमहानगरपालिका १७ बस्ने ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका १ बस्ने ३० वर्षीय रामगुलाम चौधरीको अवस्था सामान्य छ । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको छ ।
मकवानपुरको थाहा नगरपालिका ५ बस्ने २९ वर्षीय बस चालक राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
