विराटनगर, जेठ १३ :

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो राजावादीविरुद्धको अभिव्यक्तिप्रति गम्भीर आपत्ति  जनाएका छन्।

विराटनगरमा मंगलबार आयोजित ‘गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेसन’द्वारा सञ्चालित लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ओलीको अभिव्यक्तिलाई निरंकुशताको सुरुआत भने।

‘१५ गतेको आन्दोलनलाई लिएर एमालेले बोलेको कुरा नै निरंकुशताको सुरुआत हो,’ नेता कोइरालाले भने, ‘नेतृत्वले अझै बुझ्न सकेको छैन भने हामी अझै डुब्दै जान्छौं। सम्हाल्ने नेतृत्व नै हो, अब सम्हाल्नुस्।’

उनले मुलुकमा बढ्दो भ्रष्टाचार, दण्डहिनता, कमजोर आर्थिक अवस्था र रोजगारीको अवसर नहुनु गम्भीर समस्या भएको उल्लेख गरे। ‘मुलुकलाई बचाउने दायित्व हामी नेपालीकै हो, यो काम विश्व बैंक वा एशियाली विकास बैंकले गर्दैन,’ कोइरालाको भनाइ थियो।

सोमबार बुढानीलकण्ठमा सम्पन्न कांग्रेस कार्यसमिति बैठकबारे प्रष्ट पार्दै कोइरालाले आफूले राजावादी आन्दोलन र काठमाडौँको एमालेकरणबारे छलफल होला भन्ने अपेक्षा राखेको तर त्यसको सट्टा आफूलाई लिएर छलफल भएकोमा खेद प्रकट गरे।

कार्यक्रममा उनले श्रम आयोग निर्माणप्रति नेताहरु उदासीन रहेको भन्दै आलोचना गरे। निजामती कर्मचारी, शिक्षक र श्रमिक अधिकारका लागि ट्रेड युनियनहरू गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।