
नेपालमा सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (इडिसिडी) निर्देशक डा. चन्द्रभाल झाले नियमित परीक्षणका क्रममा एक जना राष्ट्रिय प्रयोगशालामा र ६ जना काभ्रेपलाञ्चोकमा कोरोना पोजिटिभ देखिएको जानकारी दिए।
डा. झाका अनुसार सबै संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ र उनीहरू निको भएर घर फर्किसकेका छन्। राष्ट्रिय प्रयोगशालाका प्रवक्ता सन्तोष सुवेदीले नियमित रूपमा कोरोना परीक्षण भइरहेको जानकारी दिए।
सावधानी अपनाउन आग्रह
कोरोना हाल सामान्य अवस्थाको देखिए पनि स्वास्थ्य विशेषज्ञहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ज्येष्ठ नागरिक, दीर्घ रोगी, गर्भवती र बालबालिकामा संक्रमण परेमा जटिलता देखिन सक्ने भएकाले सावधानी अपनाउन सुझाव दिए। ‘अहिले देखिएको कोरोना सामान्य रुघाखोकीजस्तै छ, ’डा. पुनले भने, ‘तर जोखिम समूहका व्यक्तिमा विशेष ख्याल गर्नुपर्छ।’
स्वास्थ्य सतर्कता बढाइयो
संक्रमण फैलिन नदिनका लागि सीमा नाकामा हेल्थ डेस्क राखिएको र सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको इडिसिडीका निर्देशक डा. झाले बताए। आवश्यकता परेमा परीक्षण किट तत्काल पठाउने तयारी पनि गरिएको उनको भनाइ छ। छिमेकी मुलुक भारतमा व्यापक रुपमा कोरोना संक्रमण बढेको छ । त्यहाँ कोरोना संक्रमणबाट पछिल्लो समय केहीको मृत्यु समेत भएको जनाइएको छ ।