रौतहट, जेठ १४ :

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई उच्च अदालत वीरगञ्जले सफाइ दिएको छ। बम विस्फोट गराई हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटबाट जन्मकैदको सजाय पाएका आलमलाई उच्च अदालतले निर्दोष ठहर गरेको हो।

२०६४ सालको संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटको राजपुरस्थित आफ्नै काकाको घरमा बम बनाउने क्रममा भएको विस्फोटमा घाइते भएका व्यक्तिहरुलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको आरोपमा आलममाथि मुद्दा चलेको थियो।

घटनापछि १२ वर्षसम्म मुद्दा अघि नबढ्दा पीडित पक्षले सर्वोच्च अदालतमा निवेदन दिएको थियो। अदालतको आदेशपछि २०७६ साल असोज १९ गते आलम पक्राउ परेका थिए।

उनीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी तीनवटा मुद्दा दायर गरिएको थियो। जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउँदै पछि जन्मकैदको फैसला सुनाएको थियो।

तर, उच्च अदालतको फैसलाले आलममाथिको अभियोग प्रमाणित नभएको ठहर गर्दै सफाइ दिएको हो। उक्त मुद्दामा सरकारी पक्षबाट दयानिधि रिजाल, बद्री कार्की र पुष्पराज पौडेलले बहस गरेका थिए भने आलमको पक्षबाट गोपालकृष्ण घिमिरेसहित ९ जना अधिवक्ताले बहस गरेका थिए।