आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार शिक्षा

नेपाल वेद विद्याश्रमको ५३औँ वार्षिकोत्सव सम्पन्न, कर्मकाण्डदेखि संस्कृत शिक्षामा पुर्‍याएको योगदानको चर्चा

एक अर्बको लागतमा भवन निर्माण गर्ने तयारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
नेपाल वेद विद्याश्रमको ५३औँ वार्षिकोत्सव सम्पन्न, कर्मकाण्डदेखि संस्कृत शिक्षामा पुर्‍याएको योगदानको चर्चा
काठमाडौं, मंसिर ४ :

पशुपति वनकालीस्थित नेपाल वेद विद्याश्रमको ५३औँ वार्षिकोत्सव कार्यक्रम आज सम्पन्न भएको छ। कार्यक्रममा विद्याश्रमको ऐतिहासिक योगदान, गुरुकुल शिक्षा, संस्कृत शिक्षाको महत्व तथा विद्यालयको भौतिक पूर्वाधार र शैक्षिक विकासका विषयमा चर्चा गरिएको थियो।

५३ वर्षअघि तत्कालीन राजा महेन्द्रले पशुपति क्षेत्रमा गुरुकुल शिक्षाको आवश्यकता महसुस गरी स्थापना गरिएको वेद विद्याश्रमले स्थापनाकालदेखि नै कर्मकाण्ड, गुरुकुल पद्धतिमा आधारित संस्कृत शिक्षा, नैतिक शिक्षा, सदाचार र स्वावलम्बी चरित्र निर्माणमा योगदान पुर्‍याउँदै आएको छ ।

कार्यक्रममा गोरखनाथ पीठका पीठाधीश योगी नरहरिनाथका शिष्य अनन्तनाथ योगीले नेपाल वेद विद्याश्रमबाट उत्पादित विद्यार्थीले नै पशुपतिनाथ र विद्याश्रमको पहिचान देशविदेशमा फैलाउनुपर्ने बताए। विद्याश्रममा अध्ययन गरेका विद्यार्थीहरू विभिन्न क्षेत्रमा पुगेको उल्लेख गर्दै उनले उनीहरूको प्रतिभाले विद्याश्रम र पशुपतिनाथको गरिमा अझ उँचो बनाओस् भन्ने शुभकामना व्यक्त गरे।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थप्रसाद श्रेष्ठले पशुपतिनाथको सेवामा सबैले इमानदारीपूर्वक लाग्नुपर्ने र सरसफाइमा विशेष ध्यान दिनुपर्ने बताए। उनले नेपाल वेद विद्याश्रमको भौतिक पूर्वाधार विकासका लागि भारतीय राजदूतावाससँग छलफल भएको जानकारी दिँदै एक अर्ब रुपैयाँको भवन निर्माणका लागि आश्वासन प्राप्त भएको बताए।

पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य, प्रवक्ता तथा नेपाल वेद विद्याश्रमका पूर्वअध्यक्ष प्रा. डा. रामप्रसाद दाहालले विद्याश्रमको स्थापनादेखिको इतिहास र योगदानबारे चर्चा गरे। उनले विद्याश्रमले कर्मकाण्डसँगै संस्कृत शिक्षा, नैतिकता, आचरण र स्वावलम्बी चरित्र निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको बताए। साथै, विद्याश्रमका विद्यमान समस्या समाधान गर्न तथा शैक्षिक वृत्तिविकासका विषयलाई सम्बोधन गर्न पशुपति क्षेत्र विकास कोष र सम्बन्धित निकायलाई आग्रह गरे।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक अर्जुन खतिवडाले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। यस्तै शिक्षक विष्णुप्रसाद पोखरेलले शिक्षकहरूको वृत्तिविकासमा देखिएको अन्यायलाई न्यायोचित रूपमा सम्बोधन गर्नुपर्ने माग गरे भने अर्का शिक्षक अञ्जन ढुङ्गेलले विद्यालय पठनपाठनमा मात्र नभई अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीहरू अब्बल रहेको चर्चा गरे। प्रा. भागवत ढकालसहित विभिन्न वक्ताले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयकी अध्यक्ष रुपा शाहीको सभापतित्वमा भएको कार्यक्रममा वर्षभरिका पठनपाठन तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो। विद्यार्थीहरूले गीत, कविता तथा सांगीतिक प्रस्तुति देखाएका थिए ।

कार्यक्रममा प्रा. दुर्गा दाहाल, केशव अधिकारी, गोविन्द दाहाललगायत संस्कृत शिक्षासँग सम्बन्धित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार