काठमाडौं, जेठ १४ :

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पारेका छन् ।

प्रज्ञा प्रतिष्ठानले बुधबार गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको कविता उत्सवमा मन्त्री पाण्डेले लोकतान्त्रिक व्यवस्थाका कमजोरीहरू सुधार्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

‘लोकतन्त्रको विकल्पमा कुनै पनि राजनीतिक व्यवस्था हुन सक्दैन । लोकतन्त्रमा भएका कमी-कमजोरी सुधार गर्दै जानुपर्छ । प्राप्त उपलब्धिहरू गुमाएर अर्को व्यवस्था ल्याउने कुरा देशलाई फेरि गोलचक्रमा लैजाने प्रयास मात्रै हुन्छ,’ उनले भने ।

मन्त्री पाण्डेले संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै नेपालको स्थायित्व र समृद्धिको आधार भएको उल्लेख गर्दै यसैलाई सबल र प्रभावकारी बनाउनु नै आजको आवश्यकता भएको बताए ।

उनले तीनवटै तहका सरकारबीच समन्वयमा आधारित कार्यशैली आवश्यक रहेको धारणा राख्दै सबै तहका सरकारले एक-अर्कासँग मिलेर राष्ट्र निर्माणमा लाग्नुपर्ने औंल्याए ।

मन्त्री पाण्डेले नेपाली कवि, साहित्यकार र लेखकहरू क्रान्तिका प्रत्येक चरणमा जनचेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्दै गणतन्त्रको पक्षमा कलम चलाउन आग्रह गरे । साथै उनले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिर्जनात्मक व्यक्तित्वहरूको सम्मान र प्रवर्द्धनमा सधैं तयार रहेको उल्लेख गरे । आगामी दिनमा यस्ता कार्यक्रम अझ प्रभावकारी रूपमा अगाडि बढाइने मन्त्री पाण्डेको प्रतिबद्धता थियो ।