काठमाडौं, जेठ १५ :

अभिनेत्री मनीषा कोइरालाले नेपाललाई हिन्दु अधिराज्यका रुपमा पुनःस्थापना गराउनुपर्ने बताएकी छन् । सामाजिक सञ्जालमार्फत उनले कुनै पनि राजनीतिक दल राजतन्त्रभन्दा माथि नहुने दाबी गर्दै राजावादीहरुलाई हौसला प्रदान गरेकी हुन् ।

दलहरु प्रतिस्पर्धा, विभाजन र सरकार बनाउनमै केन्द्रित रहने तर राजतन्त्रले सनातन धर्म र इतिहासमा गहिरो जरा गाडेकाले हाम्रो मौलिक पहिचानलाई सम्झाउने कोइरालाले उल्लेख गरेकी छन् ।

‘एक संवैधानिक राजतन्त्र, जुन राजनीतिक दलहरूभन्दा माथि हुन्छ, राष्ट्रिय एकताको प्रतीक हुन सक्छ, जुन राजनीतिक दलहरू, आफ्नो स्वभावले नै, दिन सक्दैनन् । दलहरु प्रतिस्पर्धा गर्छन्, विभाजित गर्छन् र सरकार बनाउँछन् । तर राजतन्त्र, जुन हाम्रो सनातन धर्म र इतिहासमा गहिरो रुपमा जरा गाडिएको छ, एउटा यस्तो संस्थागत आधार हो जसले हामीलाई हाम्रो मौलिक पहिचान सम्झाउँछ,’ मनीषाले लेखेकी छन् ।

गणतन्त्र राजनीतिक खेलमा अल्झिएकाले वर्तमान आवश्यकता गैरराजनीतिक संस्था रहेको जनाउँदै कोइरालाले थपेकी छन्, ‘जसले जनता, संस्कृति र राष्ट्रको मूल्यहरूको रक्षाका लागि सन्तुलन र नियन्त्रणको काम गर्न सकोस् ।’