
काठमाडौं, जेठ १५ :
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनावमार्फत मात्रै शासनमा फर्कन सकिने स्पष्ट पारेका छन्।
गणतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले जनताले फालेको राजतन्त्र अब फर्कन नसक्ने बताए। उनले भने, ‘जनताको मन जितेर आउनुस्, प्रधानमन्त्री पनि बन्न सकिन्छ। तर राजतन्त्र फर्किने कुनै अर्को बाटो छैन।’
अध्यक्ष नेपालले अब देश वंशको शासनमा फर्कन नसक्ने समेत स्पष्ट पारे। ‘बाबु नभए छोरा, छोरा नभए नाति, अब पनातिलाई राजा बनाउने कुरा गर्न सकिन्न,’ उनले भने, ‘हामीलाई वंशको शासन चाहिएको छैन।’उनले लामो संघर्षपछि ल्याइएको गणतन्त्र अब उल्टिन नसक्ने पनि बताए।