काठमाडौं, जेठ १६ :

प्रतिनिधिसभाका विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा र भिजिट भिसा सेटिङ प्रकरणमा उच्चस्तरीय छानबिन समिति नबन्दासम्म संसद् चल्न नदिने अडान दोहोर्‍याएका छन् ।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा विपक्षी दलका प्रमुख सचेतकहरूले आफूहरूले उठाएका विषय सम्बोधन नहुँदासम्म सदन चल्न नदिने बताएका हुन् ।

बैठकपछि प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्ना माग पूरा नहुँदासम्म सदन चल्न नदिने अडान कायमै रहेको जनाए । ‘सदनको क्यालेन्डर बनाउने विषयमा बैठक थियो । हामीले हाम्रो मुख्य माग सम्बोधन नहुँदासम्म सदनका क्रियाकलाप अगाडि बढाउन नदिने विषय राख्यौँ । सम्बोधन गर्ने विषय सरकारको भयो,’ उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति नबन्दासम्म सदन चल्न नदिने धारणा राखेको बताए । उनले काम गर्न बाहिर गएका आमनागरिकलाई दु:ख दिने, मानव तस्करसँग जोडिएको घटनामा सरकार गम्भीर भएकामा आपत्ति जनाए ।

उनले गृहमन्त्रीको राजीनामा, सदनमा प्रधानमन्त्रीको जवाफ र उच्चस्तरीय छानबिन आयोगको मागबाट आफूहरू पछि नहटेको बताए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने सदनको अवरोधको विषयमा औपचारिक कुराकानी नभएको बताए । ‘संसद्को क्यालेन्डर बनाउने विषयमा छलफल थियो । सदनको अवरोधबारे अनौपचारिक विषयमा कुरा उठे पनि औपचारिक छलफल भएन,’ उनले भने ।

सभामुख घिमिरेले २० गतेबाट चल्ने बजेटमाथिको सैद्धान्तिक छलफलमा क्यालेन्डर बनाउने विषयमा प्रमुख सचेतकहरूको बैठक बोलाएका थिए ।