
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीबीच हङकङमा द्विपक्षीय भेटवार्ता भएको छ ।
विदेशमन्त्री वाङको निमन्त्रणामा मध्यस्थताका लागि अन्तर्राष्ट्रिय सङ्गठन स्थापनासम्बन्धी महासन्धिमा हस्ताक्षर गर्ने समारोहमा पर्यवेक्षक राष्ट्रका रूपमा सहभागी हुन चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेकी राणा र वाङबीच शुक्रबार भेटवार्ता भएको हो ।
भेटका क्रममा नेपाल चीन सम्बन्ध, आपसी हित, साझा चासो र सरोकारका साथै यस वर्ष दुवै देशले मनाइरहेका नेपाल चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षका विषयहरुमा कुराकानी भएको थियो ।
त्यस अवसरमा राणाले नेपालले चीनसँगको सम्बन्धलाई महत्त्व दिँदै आएको प्रसंग उल्लेख गरिन् । उनले एक असल मित्रराष्ट्रका रुपमा नेपालको आर्थिक, सामाजिक विकासका क्षेत्रमा विगत लामो समयदेखि चीनले पुर्याउँदै आएको सहयोग र समन्वयका लागि विदेशमन्त्री वाङमार्फत चीन सरकार र चिनियाँ जनतालाई धन्यवाद दिएको राणाको सचिवालयले जनाएको छ ।
साथै आगामी दिनमा पनि आर्थिक, प्राविधिक, प्रविधि हस्तान्तरण एवं प्रत्यक्ष वैदेशिक लगानीलगायत विविध क्षेत्रमा नेपालमा चीनको सहयोगको निरन्तरताको अपेक्षा नेपालले गरेको मन्त्री राणाले बताइन् ।
त्यस अवसरमा राणाले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रही आएको दोहोर्याउँदै नेपाली भूमि चीनका विरुद्धमा प्रयोग हुन नदिइने कुरामा नेपाल अडिग रहेको पनि स्पष्ट गरिन् ।
उनले नेपालले हालै सम्पन्न गरेको सगरमाथा संवादमा चीनबाट भएको प्रतिनिधित्वका लागि चीन सरकारलाई विशेष धन्यवाद दिइन् । भेटका क्रममा नेपाल-चीनबीचमा केही वर्ष यतादेखि भइरहेका उच्चस्तरीय भ्रमणबारे चर्चा गर्दै प्रधानमन्त्री केपी ओलीले गत डिसेम्बरमा गरेको चीनको औपचारिक भ्रमण र त्यस अवसरमा भएका सहमति एवं सम्झौताहरुको कार्यान्वयबारे पनि कुराकानी भएको थियो ।
यस वर्ष नेपाल र चीनले कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सव मनाइरहेकाले यसै अवसरमा नेपालको भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री राणाले निमन्त्रणा पनि दिइन् ।
दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वर्षका अवसरमा सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाइएकाले यस वर्ष नेपालमा बढी भन्दा बढी चिनियाँ पर्यटकलाई स्वागत गर्न नेपाल इच्छुक रहेको पनि राणाले भेटका क्रममा बताएकी थिइन् ।
भेटका क्रममा चिनियाँ विदेशमन्त्री वाङले नेपालले हालै आयोजना गरेको सगरमाथा संवाद सफलतापूर्वक सम्पन्न गरेकामा राणामार्फत नेपाल सरकारलाई बधाई दिए । उनले जलवायु परिवर्तन र यसको असरलाई कम गर्ने तथा वातावरण संरक्षण गर्ने क्षेत्रमा आगामी दिनमा नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताए ।
चीनले नेपाललाई दिँदै आएको सहयोग आगामी दिनमा निरन्तर रहने बताउँदै विदेशमन्त्री वाङले चीनको समन्वयमा स्थापना हुने मध्यस्थतासम्बन्धी अन्तर्राष्ट्रिय संगठनमार्फत आगामी दिनमा नेपालसँग पनि समन्वयका साथ अघि बढ्न सकिने धारणा राखेका थिए ।
विदेशमन्त्री वाङले प्रधानमन्त्री ओलीको चीन भ्रमणका भएका सहमति र सम्झौता कार्यान्वयन अघि बढाउन राणामार्फत नेपाल सरकारलाई आग्रह गरेका थिए । साथै राणाले दिएको नेपाल भ्रमणको निमन्त्रणा स्वीकार गर्दै आफू नेपाल भ्रमणमा आउने बताएका थिए ।
मन्त्री वाङले नेपालको कूटनीतिक क्षेत्रमा हाल परराष्ट्रमन्त्री राणाको नेतृत्वमा भइरहेका र अघि सारिएका कार्यक्रमको प्रशंसा गर्दै विश्व महिला नेतृत्वसम्बन्धी फोरममा सहभागिताका लागि चीन सरकारका तर्फबाट राणालाई विशेष निमन्त्रणा पनि दिए ।
