
काठमाडाैं, जेठ १७ :
पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजना समाप्त पार्ने काम वर्तमान ओली सरकारले गरेको आरोप लगाएका छन्।
शनिबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले सरकारले बजेटमार्फत आयोजनालाई सार्वजनिक–निजी साझेदारीमा लैजाने निर्णय गरेर घाँटी छिनालेको बताएका छन्।
उनले २०७४ मा तत्कालीन प्रचण्ड सरकारले तरबार चलाएर घाँटी रेट्न सुरु गरेको आयोजना अन्ततः २०८२/८३ को बजेटमार्फत मारिएको बताएका हुन्।
‘यो निर्णय जनविरोधी, बदनियतपूर्ण र राष्ट्रघाती हो,’ भट्टराईले लेखेका छन्,‘बुढीगण्डकी देशको आर्थिक रूपान्तरणका लागि गेमचेन्जर आयोजना थियो।’
गोरखा र धादिङका प्रभावित जनताप्रति सहानुभूति प्रकट गर्दै भट्टराईले सबै सचेत नागरिकलाई विरोधमा उत्रन आह्वान गरेका छन्।