काठमाडाैं, जेठ १७ :

 नारायणहिटी दरबार परिसरभित्रको चतुर्व्यूह नारायण मन्दिरतर्फ दरबारबाट जाने मूल ढोकामा नारायणहिटी संग्राहलय प्रशासनले ताल्चा लगाएको छ।

जेठ १० गते पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल, छोरी प्रेरणा र नाती हृदयन्द्र शाहले आमा रत्न राज्य लक्ष्मीलाई भेटेपछि सोही ढोकाबाट मन्दिर प्रवेश गरी २४ वर्षपछि पूजा गरेका थिए। राजदरबार हत्याकाण्डपछि सो ढोका बन्द गरिएको थियो।

पूर्वराजपरिवारको पूजापछि पाँच दिनमै संग्राहलय प्रशासनले ढोका खोलेकोप्रति असन्तुष्टि जनाउँदै बिहीबार ताल्चा लगाई चाबी लिएर गएको स्रोतको दाबी छ।

गणतन्त्रपछि मन्दिरमा नियमित पूजा–आरती भइरहे पनि राजपरिवारको पूजा भने बन्द भएको थियो। सर्वसाधारणका लागि भने मन्दिर सधैं खुला रहँदै आएको छ।

शनिबार हिन्दुराष्ट्र तथा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शनको तयारी भइरहेकाले सरकारले दरबारमार्गस्थित राजा महेन्द्र शालिक क्षेत्र निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा कडाइ गरेको छ।