
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशमा लगानी गर्न दिने नीति ल्याउनु ऐतिहासिक भएको बताएका छन् । निजी क्षेत्रलाई सहयोग पुग्ने गरी नै बजेट आएको उनको भनाइ छ ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधै सरकारको साथमा रहेको धारणा राखे ।
केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्न सरकार डराउन नहुने उनको भनाइ छ ।
अब बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने उनले बताए । साथै, स्रोत परिचालन गर्ने ठाउँमा पनि ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले खनिजजन्य र नदिजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकामा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकामा खुसी व्यक्त गर्दै उनले लगानीकर्ताहरुलाई एकद्वारभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।