काठमाडौं, जेठ १७ :

नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा शनिबार गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले लगानी आकर्षण गर्न यो बजेट निकै उपायेगी हुने धारणा राखे । यस्तै उनले राजस्वको लक्ष्य प्राप्तिका लागि उत्पादन वृद्धि आवश्यक रहेको पनि बताए ।

‘राजस्व वृद्धिका लागि लगानी र उत्पादन हुन आवश्यक रहेको छ,’ उनले भने । बजेटले विदेशमा लगानी गर्न खुला गरेकामा निजी क्षेत्रमा उत्साह बढेको उनले बताए । 
औद्योगिक क्षेत्रको विकासका लागि बजेट सकारात्मक रहेको उनको भनाइ छ ।

तर उनले भन्सारको विषयमा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । ऊर्जा क्षेत्र नेपालका लागि निकै महत्त्वपूर्ण क्षेत्र भएकोले यसमा सरकारले सहयोग गर्नुपर्ने बताए ।

टेक एन्ड पे मोडलमा पीपीए गर्ने नीतिमा सरकारले पुनर्विचार गर्नुपर्ने उनको भनाइ छ । यो क्षेत्रलाई अघि बढाउन सहजखालको नीति आवश्यक रहेको उनले बताए ।