
काठमाडौँमा जारी राजावादी आन्दोलनलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र थप गरेको छ। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार एक आदेश जारी गर्दै सिफल, कोटेश्वर र बल्खुबाहेक काठमाडौँका अन्य क्षेत्रमा प्रदर्शन गर्न नपाइने घोषणा गरेका हुन्।
राजावादी धारका राप्रपा, राप्रपा नेपाल लगायत विभिन्न दल तथा समूहले काठमाडौँमा आन्दोलनलाई तीव्र बनाउँदै लगेको बेला प्रशासनले प्रदर्शनस्थल सीमित गर्दै निषेधाज्ञा थप गरेको हो।
जारी आदेशमा भनिएको छ, ‘काठमाडौँ जिल्लाको चक्रपथ र चक्रपथभित्रका सार्वजनिक स्थानमा भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रमहरू गर्दा अत्यावश्यक सेवा, सार्वजनिक सेवा प्रवाह र सार्वजनिक यातायात सञ्चालनमा कठिनाइ भएको भन्ने जनगुनासोहरू समेतलाई मध्यनजर गर्दै सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्ने अवस्था देखिएकोले निषेध गरिएको हो।’ यो आदेश आइतबारदेखि लागु भई बढीमा दुई महिनासम्म कायम रहनेछ।
प्रशासनले सिफल चौर क्षेत्र, कोटेश्वर आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रबाहेक अन्य क्षेत्रमा अनसन, धर्ना, प्रदर्शन, सभा लगायतका विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाएको छ। यद्यपि, प्रशासनसँग अनुमति लिएमा अन्य क्षेत्रमा पनि कार्यक्रम गर्न सकिने प्रजिअ तिवारीले स्पष्ट पारेका छन्। यसअघि शुक्रबार मात्रै प्रशासनले नारायणहिटी दरबार संग्रहालय आसपासलाई निषेधित क्षेत्र घोषणा गरेको थियो।

