काठमाडौं, जेठ १९ :

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई षड्यन्त्रपूर्वक थुनामा पुर्‍याएको आरोप लगाउँदै सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टविरुद्ध उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।

चौधरीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ अनुसार त्रुटिपूर्ण आदेश बदर गरी विष्टलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका छन्। साथै उनले मुलुकी अपराध संहिता २०७४ को दफा २७६ अन्तर्गत विष्टले पदको दुरुपयोग गरेको भन्दै हदैसम्मको कारबाहीको पनि माग गरेका छन्।

साथै चौधरीले अदालतको लेटरप्याड, छाप र पदको दुरुपयोग गरी आफूलाई अन्यायपूर्वक थुनिएको भन्दै क्षतिको मूल्यांकन र दोषीलाई कारबाहीको माग गरेका हुन्।

वैशाख १७ गते कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन गएका चौधरीलाई विष्टको कीर्ते पत्रको आधारमा पक्राउ गरी डिल्लीबजार कारागार पुर्‍याइएको थियो। पत्र कीर्ते रहेको खुलेपछि उनी पाँच घण्टामै रिहा भए।